कुनै विदेशी चर्चले बालेनलाई चुनाब जिताउन र मन्त्री बनाउन पैसा लगानी गरेको प्रमाण बाहिरियो भने के होला ? अन्य दलले त्यसलाई कसरी हेर्लान् र मुद्दा बनाउलान् ? त्यसै त 'विदेशी एस्सेट' भनेर त्रास फैलाउने काम भएको छ ! हो, नेपालमा विवादास्पद कोरियन चर्चले सांसद बनाउन, किन्न र अन्ततः कानुन र संविधान नै फेर्न भन्दै हाकाहाकी ठूलो रकम खर्च गरेका कागजातहरू बाहिरिएका छन् र पनि देशको राजनीति मौन छ । र, त्यस्तो रकम खाने, रकम खाएर मन्त्री बनाउने दल रास्वपा नभएर नेकपा एमाले नै हो भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न पनि सक्छ ! एमाले त कम्युनिस्ट हो र सिद्धान्तत: भौतिकवादी दल हो । अनि यो एक दिनको कुरो या एउटा घटना होइन ! राजसंस्था फाल्ने, गणतन्त्र ल्याउने र संविधान लेख्ने बेलादेखि आजसम्म यो निरन्तर छ भन्ने सुन्दा अझ नरमाइलो लाग्न सक्छ ! हाम्रो संविधान लेख्न कुनै विदेशी चर्चले पैसा र मान्छे खटाएको खबर पक्कै सुखद होइन । यस्तो षड्यन्त्र र आर्थिक खेलमा नाम मुछिएका प्रमुख दुई राजनैतिक पात्र हुन् केपी शर्मा ओली र माधव कुमार नेपाल ! बाबुराम भट्टराईको नाम पनि चर्चको दस्ताबेजमा सहयोगीको रूपमा लेखिएको छ । केपी ओलीलाई त चर्चले एक लाख डलरको सुशासन अवार्ड नै दिएको थियो । र, यो चर्चको नाम हो युनिफिकेशन चर्च ! यसको नेपालमा रहेको प्रोक्सी दल हो, नेपाल परिवार दल ! यसका सर्वेसर्वा नेता हुन्, एकनाथ ढकाल ! उनले उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई कोरिया पुऱ्याएका छन् र सन्तुष्ट बनाउँदै आएका छन् ! यो निर्वाचनमा पनि उनले नेकपा एमालेलाई सघाउने र एमालेले आवश्यक पर्दा (प्रदेश र सङ्घ दुबैमा) उनलाई सघाउने औपचारिक सम्झौता गरेका छन् ! तर रोचक त के छ भने उनी नेकपा एमालेको समानुपातिक लिस्टमा परेर यसअघि नै सांसद् बनिसकेका व्यक्ति हुन् । अर्कै पार्टीका उनलाई खसआर्य कोटातर्फ शीर्ष स्थानतिर राखेर ओलीले सांसद बनाएका थिए । त्यसअघि संविधानसभामा पनि ढकाल चुनिएका थिए र बाबुराम भट्टराईको कार्यकालमा मन्त्री समेत बनाइएका थिए ! कुनै सामान्य एमाले कार्यकर्तालाई उनी किन सबैभन्दा माथि बसेर एमाले सांसद बने भन्ने थाहा छैन । अझ अन्य नेतालाई पछि पार्दै उनी शान्ति तथा पुनर्निर्माणमन्त्री कसरी बने भन्ने तिनलाई हेक्का छैन । कोरियामा हालसालै खोजपत्रकारिता मार्फ़त् लीक भएको चर्च सम्बन्धी कागजातमा ढकालमार्फ़त् चर्चले संविधान नै फेर्नेसम्मको उद्देश्यका लागि करोडौं रुपियाँ निरन्तर लगानी गरेको र तलबी नेता नै खटाएको देखिन्छ । यो चर्चकी माताले केही वर्षअघि नेपालमा आयोजना गरेको विशाल होली वाइन कार्यक्रम याद छ ? नेपालीहरूको रगत अपवित्र भएकाले रक्तशुद्धि गर्ने भन्दै नेपालमा कोरियन चर्चले भव्य कार्यक्रम आयोजना गरेको थियो र त्यसको संयोजन नेपाल सरकारले नै गरेको थियो ! देशभरिका निर्वाचित स्थानीय सरकार प्रमुखदेखि उच्च पदस्थ सबैलाई 'होली वाइन' पिलाएर रक्तशुद्धि गर्ने कार्यक्रममा सरकार प्रमुखले नै उपस्थिति जनाउन कडा निर्देशन जारी गरेका थिए ! र तत्कालीन नेकपा सरकार प्रमुख केपी ओली प्रोटोकल नै बिर्सेर होटलमैं पाहुनाहरू सँग रात बिताउन गएका थिए । त्यो कार्यक्रमको विरोध गरेदेखि भीम रावल केपी ओलीको आँखामा कसिङ्गर बनेका थिए । आफ्नै पार्टी र सरकारले सहजीकरण गरेको भए पनि कोपाइलट प्रचण्ड भने उपस्थित भएनन् । बाहिर आएका कागजात र देशका घटनाक्रम जस्ताको त्यस्तै मिल्छन् । कुनै पनि स्वाभिमानी र स्वाधीन राष्ट्रका लागि यो घटना र खबर निकै दुःखद हुनुपर्ने हो । अझ राष्ट्रियताको चर्चा गर्ने र नयाँहरूलाई अराष्ट्रिय देख्ने सच्चा एमाले कार्यकर्तालाई त यो खबरले झन् पिरोल्न पर्ने हो । तिनले विद्रोह गरेर भए पनि पार्टीलाई क्लिन गर्न पर्ने हो ।